काठमाडौं । संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट व्यवस्थाविरुद्ध देशभर भण्डाफोर अभियान सुरु गर्दैछ । त्यसको सुरुवात आज पोखराबाट गरिँदैछ । यो अभियान वर्तमान व्यवस्था, कुशासन र भ्रष्टाचारको भण्डाफोर गर्नका लागि सुरु गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
राप्रपाले गणतन्त्रतात्मक व्यवस्था खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्नुपर्ने मत राख्दै आएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिबाट राप्रपा अहिले उत्साहित देखिन्छ । ज्ञानेन्द्र शाहले जनताको भलोका लागि आफूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न चेतावनी दिएका थिए । उनले व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको भन्दै अहिलेका राजनीतिक दलहरुप्रति कटाक्ष गरेका थिए ।
लगत्तै राप्रपा सातै प्रदेशका प्रमुख शहरहरुमा भण्डाफोर अभियान थाल्न सक्रिय छ । गण्डकी प्रदेशको पोखरामा फागुन ९ गते, लुम्बिनी प्रदेशको बुटवलमा फागुन १७ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १८ गते, मधेश प्रदेशको जनकपुरमा फागुन २१ गते, बागमती प्रदेशको काठमाडौंमा फागुन २५ गते र
कर्णाली प्रदेशको सुर्खेतमा फागुन २७ गते कार्यक्रम आयोजना गर्दैछ । भण्डाफोर सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्नेछन् ।