राप्रपा सरकारबाट बाहिरिँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिने निश्चित भएको छ । राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । शनिबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

आजै मन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट बाहिरिने निर्णय गरेको र राजीनामा बुझाउन जान लागेको बताएका छन् । उनी उपप्रधान तथा ऊर्जामन्त्री छन् । राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुन तथा संसदीय मामिला, विक्रम पाण्डे सहरी विकास र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री छन् ।