रामचन्द्र पौडेल राष्ट्रपति बन्ने प्रवल सम्भावना

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउँदैछ । पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनेमा पार्टीभित्र सहमति जुटिसकेको छ। आज कार्य सम्पादन समितिको बैठकले उनको नाममा निर्णय गर्दैछ । कांग्रेसमा राष्ट्रपतिका लागि पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको दाबी थियो। पार्टी सभापति शेरबहादुर देउवा र अधिकांश पार्टी पदाधिकारी पौडेलको पक्षमा देखिएपछि पार्टीले उनैलाई राष्ट्रपतिको उम्मेदवार बनाउन लागेको छ ।
सभापति देउवाले कांग्रेसको संसदीय दलको चुनावका बेला नै पौडेललाई राष्ट्रपतिमा उठाउने वचन दिएका थिए। त्यसपछि पौडेल संसदीय दलको नेतामा देउवाको प्रस्तावक बसेका थिए।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरिसकेको छ । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भएको थियो। यी आठ दलसँग राष्ट्रपति निर्वाचित गर्न यथेष्ट मत छ। सोहीकारण नयाँ राष्ट्रपति पौडेल बन्ने करीव निश्चित छ । पौडेल गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति बन्ने छन् । रामवरण यादव मुलुकको पहिलो र विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति हुन् ।