काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् ।
दुर्घटनामा सुनापति गाउँपालिका ५ रामेछापका ठूलो तामाङ, बुद्ध लामा, रामबहादुर श्रेष्ठ, नेमा तामाङ, सन्जु आले मगर, विपना तामाङ र खटबहादुर तामाङको ज्यान गएको हो । यस्तै सुनापति गाउँपालिका ४ की समिता तामाङ, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ की धनमाया तामाङ, रोशी गाउँपालिका ४ काभ्रेका कमल तामाङ, पाँचखाल नगरपालिका ८ काभ्रेका सुदीप बस्नेत, मन्डनदेउपुर ९ काभ्रेका शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका ५ काभ्रेका कुलबहादुर विकको दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ ।
२२ जना घाइतेमध्ये एक जना उपचारपछि डिस्चार्ज भएका छन् । २१ जनामध्ये १२ जनाको धुलिखेल अस्पताल काभ्रे, सात जनाको बीएण्डबी अस्पताल काठमाण्डौ र दुई जनाको केएमसी अस्पताल सिनामङ्गलमा उपचार जारी छ । बुधबार बिहान बा ३ ख ८३९६ नम्बरको बस रामेछापको सुनापती गाउँपालिका ५ र खाँडादेवी गाउँपालिका १ को सिमानामा दुर्घटनामा परेको हो । बसका चालक प्रहरीको नियन्त्रणमा छन् ।