राम्रो काम गर्न खोज्दा स्टण्ड गरेको आरोप लाग्ने पर्यटन मन्त्रीको गुनासो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राम्रो काम गर्न खोज्दा ‘स्टन्ट’ गरेको आरोप लाग्ने गरेको गुनासो गरेका छन् ।
पर्यटन यातायात व्यवसायी संघको २० औं साधारण सभालाई सम्बोधन गर्दै शुक्रबार उनले यस्तो बताएका हुन् ।

यो देशमा राम्रो काम गर्नेलाई स्टन्ट भनेर खिसी गर्ने प्रवृत्ति रहेको उनको आरोप छ । बिहान आफू नुवाकोट पुगेर पाँच हजार चियाको बिरुवा रोपेर आउँदा बाटोमा नुहाउनु परेको प्रसंग निकाल्दै उनले हिलोमैलो लुगामा कार्यक्रममा आएको भए स्टन्ट गरेको भनिने प्रवृत्ति रहेको गुनासो गरे ।

‘हिलो पोतिएको लुगामा आउदा यहाँ राम्रो भनिँदैन, स्टन्ट भनिन्छ,’ उनले भने, ‘सरसफाई नीति बनाएर लागू गरिएको छ, म आफैं सहभागी भएर सरसफाइलाई संस्कृतिको रुपमा निर्माण गर्न खोजिरहेको छु, मिडियाहरुले नै खिसी गरेर उडाउँछ ।’ उनले मन्त्री भए यता गरिएका कुन–कुन काम स्टन्ट हो भन्दै प्रश्न समेत गरे । वार्षिक ५१ हजारमा ९ रोपनी जग्गा मारवाडीले भोग चलन गरिरहेको र त्यसलाई आफूले खोसेको बताए ।

६ वर्षदेखि थन्किएको फ्लाइङ स्कुलको फाइल खोलिएको र नेपाली आकाश कालो सूचीबाट हट्दै गरेको समेत उनको दाबी छ । वायु सेवा निगम सुधार हुने क्रममा रहेको दाबी गर्दै उनले पर्यटन र संस्कृति नीति बनाउनु पनि स्टन्ट नै हो ? भन्दै प्रश्न गरे । ‘अरु थुप्रैथुप्रै कामको फेहेरिस्त हामीसँग छ । यसलाई पनि स्टन्ट नै भनेर उडाइन्छ यहाँ,’ उनले भने ।