काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिएकै अवस्थामा नयाँ सरकार गठनका लागि भन्दै राष्ट्रपतिले २१ घण्टाको समय दिएको विज्ञप्ती सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु आक्रोसित बनेका छन् । नेताहरुले यो असंवैधानिक कदम भएको र प्रधानमन्त्री तथा राष्ट्रपति मिलेर संविधानको खिल्ली उडाउने काम भएको प्रतिक्रिया दिएका छन् ।
कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो कदमलाई संविधान फाल्ने षडयन्त्रको संज्ञा दिएका छन् । कांग्रेस नेता गगन थापाले अब राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गर्नुपर्ने बताएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त प्रयास भएको उल्लेख गरेका छन् । यसै सन्दर्भमा कांग्रेसले शुक्रबार बिहान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५)अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले पदाधिकारीसहितको बैठक बोलाएको हो। बैठक शुक्रबार बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ।