काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले सोमबारबाट दुई दिने बंगलादेश भ्रमण गर्दैछिन् । चैत ९ मा ढाका जाने राष्ट्रपतिको टोली १० चैतमा स्वदेश फर्कने छ । यो राजकीय भ्रमण हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपतिको भ्रमणबारे संसदलाई जानकारी गराएका छन् । उनका अनुसार भ्रमणका क्रममा महत्त्वपूर्ण एजेन्डामा सहमति हुनसक्नेछ ।
यस पटकको भ्रमणमा बंगालदेशले नेपाललाई एक नयाँ पारवहन मार्ग दिन सक्ने अपेक्षा नेपाली पक्षले गरेको छ । सांस्कृतिक आदानप्रदान र पर्यटन विकासमा समेत यो भ्रमण महत्वपूर्ण हुने बताइएको छ । हाल नेपालले बंगलादेशसँग काँकडभिट्टा-फुलबारी-बङ्गलाबन्ध पारवहन मार्ग प्रयोग गर्न पाउँछ ।
बिरल-राधिकापुर मार्ग उपलब्ध छ । तर, यो मार्गको प्रयोग भने हुन सकेको छैन । बीबीसीका अनुसार यस पटक रोहनपुर सिंहबाद रेलरुट पारवहन मार्गको अनुमतिबारे औपचारिक घोषणा हुन सक्ने सम्भावना छ । यो रुट नेपालले सन् २०११ देखि नै मागेको थियो ।
बंगलादेशको मन्त्रिपरिषद्ले गत अक्टोबरमै यसबारे अनुमति दिइसकेको थियो। अहिलेको भ्रमणमा औपचारिक दिन लागिएको बीबीसीले जनाएको छ । बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीको अवसरमा त्यहाँ आयोजना हुने विशेष कार्यक्रममा भाग लिन राष्ट्रपति ढाका जान लागेकी हुन् । राष्ट्रपति भण्डारीले त्यहाँ विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।