काठमाडौं । आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीको दुई दिने बंगलादेश भ्रमण शुरु हुँदैछ । यस भ्रमणका दौरान दुई देशबीच चार समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ । भ्रमणमा नेपाल र बंगलादेश बीच पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता हस्ताक्षर हुने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार यो सम्झौतापछि बंगलादेश रोहनपुर–सिंगावाद रेलवे रुट नेपाललाई पारवहन प्रयोजनमा प्रयोग गर्न सकिने छ । नेपाल र बंगलादेशबीचमा स्यानिटरी र साइटो स्यानेटरीसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुँदैछ ।
यससम्बन्धी सम्झौताका लागि मन्त्रिपरिषदको वैठकले उद्योग, वाणिज्य र आपूर्ती मन्त्रालयका सचिवलाई अख्तियारी दिएको छ । राष्ट्रपतिकै भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने भएको छ ।
नेपाल सरकार र बंगलादेश सरकारबीच सांस्कृतिक कार्यक्रम आदान प्रदान कार्यक्रम सम्बन्धी सहमति पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसबाहेक उर्जा सहकार्य , व्यापार प्रवर्द्धनजस्तो विषयले समेत छलफलमा प्राथमिकता पाउने बताइएको छ । राष्ट्रपति भण्डारी मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।