काठमाडौं । राष्ट्रपतिको उम्मेदवारी दिने मिति नजिकिएको छ । तर, दलहरु अहिलेसम्म उम्मेदवार टुंगो लगाउने कुरामा चुकिरहेका छन् । यसै सन्दर्भमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम इन्ट्री भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटेरै उनलाई राष्ट्रपतिको प्रस्ताव गरेको बताइएको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत राष्ट्रपतिमा नेता नेपालको नाम विकल्पको रूपमा चर्चा गर्दै आएका थिए ।
पछिल्लो समय नेपाली कांग्रेसबाट रामचन्दै पौडेल र एमालेबाट माधव नेपालको नाम प्रस्ताव हुने सम्भावना बढेको नेताहरुले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका कांग्रेस नेतासँगको औपचारिक छलफलमा नेकपा एमालेबाट नेता नेपालको नाम प्रस्ताव हुनसक्ने सम्भावना औँल्याएको बताएका थिए । तर एमालेले कांग्रेस आफूसँग नयाँ समीकरण गर्न तयार नहुने र माओवादीले कुनै हालतमा राष्ट्रपति नदिए एमालेले कांग्रेस–माओवादी सम्भावित समीकरण रोक्न जुनसुकै विकल्पहरू अघि सार्न सक्ने अवस्था छ ।