काठमाडौं । सरकारले नागरिकता विधेयक जस्ताको तस्तै पठाएसँगै असन्तुष्ट राष्ट्रपति विद्यादेवि भण्डारीले राजिनामा दिन सक्ने आशंकाका बीच राजनीतिमा नयाँ बहस शुरु भएको छ । बुधबार एमाले निकट सञ्चारमाध्यमले राजिनामा आउन सक्ने सम्भावना रहेको प्रकृतिका समाचार प्रकाशित गरेका थिए । यसलाई बल पुग्ने गरी बुधबार नै राष्ट्रपतिले आफ्नो सुरक्षामा खटिएका वर्तमान र विगतका सुरक्षाकर्मीलाई समेत बोलाएर धन्यवाद ज्ञापन गरेको खबर सार्वजनिक भएको छ ।
यसले राष्ट्रपति राजिनामा दिने मुडमा पुगेको आशंकमा अझ बढी बल पुगेको हो । आजै प्रधानमन्त्री शेर बहादुर देउवाले समेत आफ्नो दलका नेताहरुसँग यस्तौ खबर सुनाएका थिए । राजिनामाले राष्ट्रपतिको राष्ट्रवादी छवि बस्ने र यसले उनको पार्टी एमालेलाई समेत फाइदा हुने विश्लेषण एमाले निकट सञ्चारमाध्यमले गरेका छन् । साथै राष्ट्रपति सक्रिय राजनीतिमा फर्कने सम्भावना समेत जनाइएको छ । नागरिकता विधेयकमा भने राष्ट्रपतिले कानूनी विषय समेटेर आफ्नो असहमति राखेकी थिइन् । सरकारले त्यसलाई अटेर गरेसँगै उनी असन्तुष्ट छिन् ।