राष्ट्रपतिले व्यवस्थामाथि प्रहार गर्नुभयो : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले व्यवस्थामाथि नै प्रहार गर्ने काम गरेको प्रतिक्रिया दिएका छन् । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको विधेयक राष्ट्रपतिले १५ दिनभित्र पारित गर्नुपर्ने भए पनि मंगलबार अस्वीकार गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राजनीतिक प्रणाली नै खतरामा पार्ने काम भएको पौडेलको तर्क छ ।

पौडेलले ट्वीट गर्दै संसदबाट अनुमोदन भएको विधेयक प्रमाणीकरण गरी संवैधानिक अधिकार प्रयोग गर्नुको साटो राष्ट्रपतिबाट विद्यमान राजनीतिक प्रणालीलाई नै खतरामा पार्ने काम भएको बताए। उनले बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थामाथिकै प्रहार भएको बताए।

‘जन निर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संबैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु,’ उनले भनेका छन्।