काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ र अछाम जाने भएका छन् । राष्ट्रपति पौडेल बागलुङको सर्वसिद्धिधाम पञ्चकोट जाने कार्यक्रम छ । बुधवार देखि पञ्चकोटमा सञ्चालित अनन्त श्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन् । बिहान ९ बजेर तीस मिनेटमा राष्ट्रपति पौडेल पञ्चकोट जाने महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिएका छन् । राष्ट्रपति आउने भएपछि बागलुङको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति पौडेलबाट पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको ध्वन्यात्मक मुक्तिनाथ महाघण्टको उद्घाटन, यज्ञ मण्डपको दर्शन र महायज्ञ सफलताको शुभकामना व्यक्त गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
आजै राष्ट्रपति पौडेल अछाम जाने भएका छन् । नेपालको चार धाम मध्यको एक वैद्यनाथ धाममा बिहीबार देखी सुरु हुने कोटि होम महायज्ञको उद्घाटनका लागी अछाम जान लागेका हुन् । जिल्लाको साँफेबगर नगरपालिका १ मा आजदेखि १४४ वर्ष पछि सुरु हुन लागेको कोटिहोम महायज्ञ शिवरात्रि सम्म चल्ने छ । राष्ट्रपति पौडेल आउने भएकोले जिल्लाको शान्ति सुरक्षा कडा परिएको छ । कोटिहोम महायज्ञको तयारी पुरा भएको प्रचारप्रसार समिति संयोजक शिवबहादुर कुँवरले जानकारी दिएका छन् । वैद्यनाथ धाममा हरेक ६ वर्षमा लक्ष होम सहितको अर्ध कुम्भ मेला , हरेक १२ वर्षको अन्तरमा महालक्ष्यहोम सहितको महाकुम्भ मेला र १४४ वर्षको अन्तरमा कोटि होम महायज्ञ सहितको महाकुम्भमेला लाग्छ ।