काठमाडौं । राष्ट्रपति चुनावको प्रक्रिया आजाबट शुरु हुँदैछ । सो प्रयोजनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्दैछ । नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन गर्ने भएको हो । आयोगले संघीय संसद र प्रदेश सभा सचिवालयबाट कायम रहेका सदस्यको सूची मागेर मतदाता नामावली तयार पारेको हो । नामावली प्रकाशनपछि दाबी विरोध गर्ने तथा नाम सच्च्याउन दुई दिनको समय दिइने भएको छ ।
आउँदो २५ गते राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । मतदानका लागि आउँदो १३ गते शनिबार मनोनयन दर्ता हुनेछ । राष्ट्रपतिको चुनावमा सङ्घीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा सात वटै प्रदेशका प्रदेश सभा सदस्यले मतदान गर्छन् । संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ तथा प्रदेश सभामा ५ सय ५० मतदाता छन् ।
आयोगले २०६८ को जनगणनाकै मतभारका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्ने निर्णय गरेको छ । सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुनेछ । उपराष्ट्रपतिका लागि चैत ३ गते चुनाव हुने तालिका छ । अझै उम्मेदजारको भने टुंगो लागिसकेको छैन ।