राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पोडेल अस्पताल भर्ना भएका छन् । उनलाई आजको रात अस्पतालमै राखिने भएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई अब्जर्भेसनका लागि अस्पतालमै राख्न लागिएको जनाएको छ ।

‘राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणको क्रममा यस शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आज भर्ना हुन भएको छ,’ अस्पतालले भनेको छ, ‘उहाँलाई चिकित्सकहरुको सल्लाहअनुसार २४ घण्टा अवलोकनमा राखि भोलिसम्म डिस्चार्ज गर्ने तयारी रहेको जानकारी गराउँछौं ।’

दम र ग्यास्ट्रिकबाट पीडित पौडेललाई छाती दुख्ने समस्या देखिएपछि मंगलबार बिहान ७ बजे काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो । अहिले उनको मुटुको परीक्षण भइरहेको छ । सचिवालयकाअनुसार एनजिओग्रामको सुरुआती रिपोर्ट राम्रो छ ।

पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार भइरहेको छ । गंगालालका निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको टोली पौडेलको स्वास्थ्य परीक्षणमा संलग्न छ ।