काठमाडौं । अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजराइलको जवाफी कारबाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजराइलले उनको राजीनामा माग गरेको छ ।
राष्ट्रसङ्घमा इजराइली राजदूत गिलाड एर्डानले महासचिव गुटेरेसलाई राष्ट्रसङ्घको नेतृत्व गर्नका लागि ‘अनुपयुक्त’ भन्दै उनको राजीनामा माग गरेका हुन् ।
‘बालबालिका, महिला र वृद्धवृद्धाहरूको सामूहिक हत्याको अभियानामा समझदारी देखाउने महासचिव राष्ट्रसङ्घको नेतृत्व गर्न योग्य हुनुहुन्न, म उहाँलाई तुरुन्त राजीनामा दिन आग्रह गर्दछु, इजराइली नागरिक र यहुदीहरूका विरुद्ध भएको सबैभन्दा भयानक अत्याचारका लागि दया देखाउने महासचिवसँग कुरा गर्नुको कुनै औचित्य नै छैन’, सामाजिक सञ्जाल एक्समा उनले भने ।
राष्ट्रसङ्घका महासचिव गुटेरेसले हमासले गरेको हमला ‘शून्यमा नभएको’ भन्दै ‘प्यालेस्टिनी नागरिकहरूको सामूहिक सजाय’ लाई उचित नभएको भनी टिप्पणी गरेपछि इजराइलको उक्त भनाइ आएको हो ।
हमासले गरेको हमला शुन्यमा भएको होइन भन्ने कुरालाई पनि मान्यता दिनु महत्वपूर्ण हो, प्यालेस्टिनी जनता ५६ वर्षदेखि दमनकारी कब्जामा परेका छन्, उनीहरूले आफ्नो भूमि निरन्तर बस्तीको व्यवस्थापन र हिंसाबाट ग्रस्त भएको देखेका छन्, उनीहरूको अर्थतन्त्र अवरुद्ध भएको छ, उनीहरूका मानिस विस्थापित भएका छन् र घर ध्वस्त भएको छ, आफ्नो दुर्दशाको राजनीतिक समाधान हुने उनीहरूको अपेक्षा हराउदै गइरहेको छ ।