राष्ट्रिय खेलकुदको समापन आज

पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन बिहीबार हुँदैछ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोह आयोजना गरी समापन हुनेछ । समापनमा समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थित हुने कार्यक्रम छ । पोखरा रंगशालामा पुरुष फुटबल फाइनल खेलपछि ४ बजे समापन समारोह सुरु हुनेछ ।

यस्तै सहभागी टिमको मार्चपास, प्रकाश सपुत र मिलन नेवाको सांगीतिक प्रस्तुती पनि रहनेछ । समापन समारोहमा दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिने छ । दशौं संस्करण २०८१ सालमा आयोजना हुनेछ । नवौं राष्ट्रिय खेलकुदमा ११ टिमका ६ हजार बढी खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।