राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेको नेपाल समुहले ह्वीप नमान्ने

काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनमा वाग्मती प्रदेशका नेकपा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई मत दिन एमालेले जारी गरेको ह्वीप नमान्ने संकेत वरिष्ठ नेता माधवकुमार नेपालले गरेका छन् । मंगलबार बादल एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगी आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

जवाफमा नेता नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएको भन्दै अहिले सहयोग गर्न नसक्ने बताएको नेपालका सहयोगी मोहन गौतमले उल्लेख गरेका छन् । नेता बादलले मतदातालाई स्वविवेक प्रयोग गर्न प्रस्ताव गरेको र उनको प्रस्तावमा नेता नेपाल सहमत भएको बताइएको छ ।

यस अनुसार एमालेमा पार्टीले जारी गरेको ह्वीप माधव नेपाल पक्षका मतदाताले नमान्ने देखिएको छ । बादललाई नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि उनको सांसद पद गुमेको हो । एमालेले उनलाई उपनिर्वाचनमा उठाएको छ । तर, माधव नेपाल समुह ओलीसँग सहमति गर्नु अगाडी नै मनोनयन दर्ता भएका कारण विपक्षी दलका तर्फबाट डा. खिमलाल देवकोटा उमेदवार बनेका छन् । उपनिर्वाचन जेठ ६ मा हुने छ ।