काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार शनिबारसम्म दल दर्ताको समय दिइएको थियो । आयोगले पुस १२ बाट निर्वाचन प्रक्रिया थाल्दैछ । शुक्रबार आठ र शनिबार चार वटा दलले दल दर्ता गराएका हुन् । नेपाली काँग्रेस र राप्रपा लगायतका दलले ढिला गरि दल दर्ता गरेका हुन् ।
दल दर्ता गराउने पार्टीमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एमाले, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेस, नेपाल परिवार दल गरी नौ वटा दलले सातै प्रदेशको राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टीले बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मात्रै दल दर्ता गराएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ र सुदूरपश्चिम प्रदेशका लागि र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ को राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सांसद, स्थानीय निकायका प्रमुख, उपप्रमुख र नगरपालिकाका अध्यक्ष र उपाध्यक्षले भोट हाल्न पाउने प्रावधान छ । आयोगमा १ सय ३ दल दर्ता भएकोमा १२ वटा दलले निर्वाचन प्रक्रियाका लागि दल दर्ता गराएको हुन् ।