राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ जना मतदाताले भोट हाल्ने

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा दुई हजार २५ जना मतदाताले भोट हाल्ने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरेसँगै यो संख्या कायम भएको हो । सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गरेका थिए । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म दाबी विरोध र नाम सच्याउन निवेदन आह्वान गरिएकोमा कुनै निवेदन परेन ।
राष्ट्रिय सभा निर्वाचनका लागि स्थापना गरिएको सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार उम्मेदवारी दर्ता हुँदैछ । प्रदेश १ मा ९२ जना प्रदेश सभा सदस्य र २७२ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३६४ जना मतदाता कायम भएका छन् । प्रदेश २ मा १०४ प्रदेश सभा सदस्य र २६८ स्थानीय तहका गरी कुल ३७२ जना मतदाता कायम भएको आयोगको तथ्यांक छ । बागमती प्रदेशमा १०९ प्रदेश सभा सदस्य र २३७ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३४६ जना मतदाता रहेका छन् ।

गण्डकीमा ५९ प्रदेश सभा सदस्य र १७० स्थानीय तहका गरी कुल २२९ मतदाता छन् । लुम्बिनीमा ८१ प्रदेश सभा सदस्य र २१५ स्थानीय तहका गरी कुल २९६ मतदाता रहनेछन् । कर्णालीमा ३५ प्रदेश सभा सदस्य र १५६ स्थानीय तहका प्रमुख गरी १९१ जना मतदाता कायम भएका छन् । सुदूरपश्चिममा ५२ प्रदेश सभा सदस्य र १७५ स्थानीय तहका प्रमुख गरी २२७ जना मतदाता कायम भएको छ ।