राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले साझा उमेदवार उठाउने, आज बैठक

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट साझा उमेदवार उठाइने भएको छ । यसले एमालेलाइ झट्का लाग्ने छ । उमेदवार तय गर्न सत्ता गठबन्धन दलको बैठक आजका लागि बोलाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले  राष्ट्रिय सभा सदस्य चुनावका उम्मेदवार छनाेट गर्ने विषयमा छलफल गर्न गठबन्धन दलको बैठक बोलाएका हुन् । गठबन्धनको बैठकपछि दिउँसो कांग्रेसको केन्द्रीय समिति बैठक समेत डाकिएको छ ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय सभा सदस्यको चुनावमा साझा उम्मेदवार बनाउने तयारीमा छन् ।

राष्ट्रिय सभा सदस्यको चुनावका लागि मङ्गलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ । राष्ट्रिय सभाका २० जना सदस्यहरूको पदावधि आउँदो फागुन २१ गते सकिँदैछ । त्यसमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य भएकाले बाँकी १९ पदका लागि आउँदो माघ १२ गते चुनाव हुदैछ ।

राष्ट्रिय सभा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै चुनाव  हुने व्यवस्था छ । त्यसअनुसार यसपटक सातै प्रदेशमा एक महिलासहित २–२ जना, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट दलित १–१ जना तथा प्रदेश-१ र कर्णाली प्रदेशबाट अपाङ्गता वा अल्पसङ्ख्यक भएका १–१ जनाका लागि चुनाव हुँदैछ ।
चुनावमा प्रदेश सभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्। देशभरिबाट प्रदेश सभा सदस्यहरू ५३२, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखहरू १४९३ गरी जम्मा २०२५ जना मतदाता छन् । आयोगले सात प्रदेशमा मतदानस्थल तोकिएको जनाएको छ ।