राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा केसी, घिमिरे र झाँक्री विजयी

देउखुरी (दाङ), ११ माघः राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । महिलातर्फ एमालेकी रामकुमारी झाँक्री तथा अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी र अपाङ्ग÷अल्पसङ्ख्यक कोटामा वासुदेव घिमिरे विजयी भएका छन् । महिलातर्फ एमालेकी झाँक्री ६ हजार ३०३ मतभारसहित विजयी भएकी हुन् ।

उनकी निकटम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की दुर्गाकुमारी भण्डारीले एक हजार ३६२ मत तथा राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १५२ मतभार प्राप्त गरिन् । यसैगरी अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी पाँच हजार ९७७ मतभारसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वृहस्पति अधिकारीले एक हजार ८३२ मतभार प्राप्त गरे । यस्तै राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार पाए ।

यस्तै अपाङ्ग÷अल्पसङ्ख्यकतर्फ कांग्रेसका वासुदेव घिमिरे ६ हजार ३२२ मतभारसहित विजयी भए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सर्जन विकले एक हजार ६०१ मतभार पाए । निर्वाचनमा प्रदेशसभातर्फ ७८ र स्थानीयतहतर्फ २०८ मत खसेको थियो । जसमा प्रदेशसभातर्फ महिला ३० र पुरुष ४८ मत खसेको थियो । जम्मा प्रदेशसभातर्फ ८३ मतमा पाँच जना र स्थानीय तहतर्फ २१७ मतदातामध्ये नौ जना अनुपस्थित रहेको थियो ।