रास्वपाको बृहत् राजनीतिक समायोजन घोषणासभा सम्पन्न

काठमाडौँ, २१ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व र थरुहट\थारुवान अभियन्ताबीच समायोजन भएको छ ।
आज यहाँ आयोजित रास्वपाको राजनीतिक समायोजन घोषणासभामा नौ बुँदे सहमतिसहित राजनीतिक समायोजन भएको हो।

सहमतिपत्रमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, नागरिक उन्मुक्ति पार्टीका पूर्ववरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, थरुहट\थारुवान अभियानका तर्फबाट लक्ष्मण थारु तथा प्रतिनिधिका रूपमा सुरेन्द्र चौधरीले हस्ताक्षर गरे । सहमतिपत्रमा थारु समुदायको धार्मिक तथा सांस्कृतिक प्रणालीको संरक्षण र प्रवर्द्धनका लागि थारु बहुल क्षेत्रलाई थारु संरक्षित ‘विशेष क्षेत्र’ घोषणा गर्न कानुनी एवं संवैधानिक प्रक्रिया प्रारम्भ गर्ने उल्लेख छ ।

‘टीकापुर घटना’लाई राजनीतिक घटनाका रूपमा स्वीकार गर्दै रास्वपाको नेतृत्वमा सङ्घीय सरकार गठन भएपछि शान्ति सुरक्षासँग सम्बन्धित सबै उच्चस्तरीय आयोगका सिफारिसहरूको उचित कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ । निजामती सेवा, न्यायिक क्षेत्र, प्रहरीलगायत सबै सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएको अनुपातअनुसार थारु समुदायको आरक्षण पूर्ण रूपमा लागू गर्ने पनि सहमति भएको छ । भूगोल, जनसङ्ख्या, क्षमता र सांस्कृतिक पहिचानका आधारमा प्रादेशिक सुशासनका विविध आयाममा सर्वदलीय राजनीतिक सहमति जुटाउन पहल गर्ने सहमतिमा भनिएको छ ।