काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकले पार्टी सदस्य दामोदर खत्रीलाई तीन महिना निलम्बन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
सैनामैना नगर र्यापिड एक्सन टिमका संयोजक रहेका खत्रीले गत असार ३१ गते आफ्नो समूहमाथि कुटपिट भएको भन्दै पत्रकार सम्मेलन गरेका थिए। रूपन्देही २ निर्वाचन क्षेत्रीय कमिटी सदस्य विक्रम तिवारीको समूहले कुटपिट गरेको बताए पनि उक्त घटनामा खत्री नै दोषी देखिएको भन्दै रास्वपाले कारबाहीस्वरूप तीन महिना निलम्बन गर्ने निर्णय गरेको हो।
बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काको निलम्बन भने फुकुवा गरिएको महामन्त्रीसमेत रहेका ढकालले बताएका छन्। उनीमाथि बझाङकै एक पत्रकारलाई कुटपिट गरेको आरोप लागेको थियो। त्यसमा उनको दोष नदेखिएको ढकालले बताए।
बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ। त्यस्तै पार्टीका विभागको सदस्य र पदाधिकारी बन्न आवश्यक मापदण्डसमेत तोकेको छ। बैठकले नीति तथा विचार प्रतिनिधिमण्डलका सदस्यहरूलाई स्थलगत अध्ययन गर्न गाउँ पठाउने र उनीहरूको भ्रमण खर्चसमेत स्वीकृत गरिएको प्रवक्ता ढकालले जानकारी दिए।