काठमाडौं । राहदानी विभागमा प्रि(इनरोलमेन्टको व्यवस्था कार्यान्वयनमा आएको छ । विभागले सेवा सहज बनाउन एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्ट कार्यान्वयनमा ल्याएको हो । विभागका अनुसार आजदेखि दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि–इनरोलमेन्ट हुनेछ । अहिलेसम्म २ देखि ३ दिनको मात्रै प्रि–इनरोलमेन्टको व्यवस्था रहेकोमा अब एक महिनाको गर्न लागिएको हो । दुई, तीन दिनको मात्रै अग्रिम आवेदन हुँदा सेवाग्राहीलाई झन्झट भएको गुनासो आएपछि विभागले एक महिनाको योजना ल्याएको हो ।
यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागले उल्लेख गरेको छ । अब आज १६ गते प्रि–इनरोलमेन्ट गर्दा फागुन १५ गतेसम्म समय पाइन्छ । विभागसहित विदेशमा रहेका कुटनीतिक नियोग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयले पनि एक महिनाको प्रि–इनरोलमेन्ट गराउने छन् ।
विभागले काठमाडौं नजिकका जिल्लाहरुमा १० देखि १२ दिन, तराईका जिल्लाहरुमा १२ देखि १५ दिनभित्र, पहाडका सुगम जिल्लामा १५ देखि २० दिन, हिमाली जिल्लाहरुमा २० देखि ३० दिन र विदेशमा रहेका नेपाली नियोगहरुमा २० देखि ३५ दिनभित्र राहदानी वितरण गर्ने व्यवस्था गरेको जनाएको छ ।