न्युयोर्क
नेपाली सनातन हिन्दू धर्मको पवित्र ग्रन्थ श्री स्वस्थानी ब्रतकथाको अवसरमा रिजउड नेप्लिज सोसाईटी न्युयोर्कले श्रद्धा, एकता र सामूहिक उत्तरदायित्वको ऐतिहासिक उदाहरण — न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ भव्य रूपमा सु-सम्पन्न गरेको छ ।

सोसाइटीले प्रकाशित गरेको विज्ञप्ति;
नेपाली–अमेरिकन विभिन्न संघ–संस्था, तथा मिडिया पार्टनरहरूको संयुक्त सहकार्यमा रिजउड नेपाली समाज (RNS) द्वारा न्यूयोर्कस्थित एकमात्र नेपाली मन्दिर (दुर्गा मन्दिर) तथा नेपाली सामुदायिक एवं सांस्कृतिक केन्द्र, रिजउडमा जनवरी ३, २०२६ देखि फेब्रुअरी १, २०२६ सम्म आयोजित श्रीस्वस्थानी व्रतकथा – न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ भव्य, मर्यादित तथा ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त गौरवान्वित भएका छौँ।
एक महिनासम्म निरन्तर सञ्चालन भएको यस धार्मिक तथा सांस्कृतिक महोत्सवमा करिब ६,००० भन्दा बढी श्रद्धालु भक्तजनहरूको प्रत्यक्ष सहभागिताले नेपाली समुदायको आस्था, संस्कार, सांस्कृतिक पहिचान तथा सामूदायिक उत्तरदायित्वलाई थप सुदृढ बनाएको छ।
न्यूयोर्क क्षेत्रमा बढ़ेको चिसो हिमपात तथा अन्य प्रतिकूल परिस्थितिका बाबजुद पनि दैनिक रूपमा कथा–पाठ, पूजा–आराधना,आरती ,कर्ता (यजमान) सेवा, प्रसाद वितरण तथा सांस्कृतिक–आध्यात्मिक कार्यक्रमहरू निरन्तर सञ्चालन हुनु नेपाली समुदायको एकता, अनुशासन र संगठनात्मक क्षमताको सशक्त उदाहरण हो ।

यस महोत्सव मार्फत कुल $358,974.81 (तीन लाख अठाउन्न हजार नौ सय चौहत्तर अमेरिकी डलर ,एकासी सेन्ट ) संकलन भएको छ। उक्त धनराशी मध्ये
डीटीएनसी
- पुरानो प्रतिबद्धता गरिएको $50,752.56,
- मूर्तिहरू पुनर्स्थापनाको लागि $62,512.00, तथा
- मंदिर संचालनको निमित्त “dollar A day ( मुठी दान) सामुदायिक अभियान” अन्तर्गत हाल सम्म ११० जना बाट $13,103.00 प्राप्त भएको हो।
बाँकी रकम श्रीस्वस्थानी महोत्सव २०२६ अवधिभर विभिन्न कर्ता/यजमान, दाताहरू तथा श्रद्धालु भक्तजनहरूको स्वेच्छिक दान बाट प्राप्त भएको हो।
यी सबै संकलित रकमहरू दुर्गा मंदिर (नेपाली मन्दिर), सामुदायिक तथा सांस्कृतिक केन्द्रको जारी पुनर्निर्माण तथा निरन्तर सञ्चालनका निमित्त खर्च गरिनेछ। - पुनश्च: सम्पूर्ण नेपाली समुदायहरूलाई यो जानकारी गराउन चाहन्छौँ कि नेपाली मन्दिर (दुर्गा मंदिर), समुदाय तथा सांस्कृतिक केन्द्रको भवन खरिद र पुननिर्माण को लागि लिइएको कुल ऋणमध्ये $1,180,000 (एघार लाख अस्सी हजार अमेरिकी डलर ) अझै भुक्तानी गर्न बाँकी रहेको छ साथै, जारी पुनर्निर्माण कार्य अन्तर्गत करिब $80,000 (असी हजार अमेरिकी डलर ) भुक्तानी गर्न बाँकी रहेको छ।
केन्द्रको मासिक गृहकर्जा (mortgage) प्रतिमहिना $10,500 (दश हजार पाँच सय अमेरिकी डलर ) रहेकाले, यो उल्लेखनीय प्रगतिले ठुलो राहत प्रदान गरेको छ । अझ बाँकी दायित्वहरू पूरा गर्न समुदायको निरन्तर सहयोग, समर्थन र सहभागिता अत्यन्त आवश्यक छ।
“न्यूयोर्क स्वस्थानी महोत्सव २०२६“ को सफल आयोजनामा योगदान पुर्याउनुहुने दुबै गुरूहरू, मुख्य आयोजक समिति, उपसमिति संयोजकहरू, सञ्चालन तथा व्यवस्थापन टोली, स्वयंसेवकहरू, कर्ता/यजमानहरू, दाताहरू, प्रायोजकहरू, सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक प्रस्तुतिमार्फत कार्यक्रमलाई जीवन्त बनाउनुहुने प्रस्तुतिकर्ताहरू, मिडिया तथा कम्युनिटी पार्टनरहरू, सहभागी आदरणीय सरकारी पदाधिकारीहरू, साथै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ सहकार दिनुहुने सम्पूर्ण श्रद्धालु भक्तजनहरूप्रति हृदयदेखि हार्दिक धन्यवाद, साधुवाद तथा कृतज्ञता अर्पण गर्दछौँ।
यस महोत्सवले आर्थिक मात्र होइन, हाम्रो साझा आस्था, संस्कार, सांस्कृतिक पहिचान र सामुदायिक एकताको दीर्घकालीन आधारलाई अझ मजबुत बनाएको छ। यही एकता, विश्वास र सेवाभाव आगामी दिनहरूमा पनि निरन्तर रही रहनेछ भन्ने दृढ विश्वासका साथ, बाँकी दायित्वहरू पूरा गर्न तथा नेपाली मन्दिर, समुदाय तथा सांस्कृतिक केन्द्रलाई पूर्ण रूपमा सुदृढ बनाउन सबैमा निरन्तर सहयोग, सहभागिता र समर्थनको हार्दिक अनुरोध गर्दछौँ।