काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्ण बहादुर महराले जेलबाट रिहा भएसँगै पहिलो वक्तब्य सार्वजनिक गरेका छन् ।
उनले सांसदको हैसियतमा वक्तब्य निकालेका हुन् । उनले वक्तब्यमा प्रहरी हिरासत र त्यसपछिको जेल बसाईका क्रममा आफूप्रति सदभाव राख्ने सबैलाई धन्यवाद भनेका छन् ।
उनले अब आफ्नो प्राथमिकता मुलुकको स्वाधिनता रक्षामा हुने समेत बताएका छन् । उनले आफुमाथि लागेको आरोपलई तथाकथित भन्दै यस अवस्थामा सदभाव राख्नेहरुलाई धन्यवाद भनेका हुन् ।
जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाएसँगै उनी सोमबार नै निवास लागेका छन् ।
संसद सचिवालयकी कर्मचारी माथि बलात्कार प्रयास गरेको आरोप लागेपछि उनले १४ असोजमा सभामुखबाट राजीनामा दिएका थिए ।
१९ असोजमा उनी पक्राउ परेका हुन् । देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा आफनो पहिलो र उच्च प्राथमिकतामा सधैं रहेको, अहिले पनि भएको र सदैव रहिरहने उनले उल्लेख गरेका छन् ।
उनीमाथि एमसीसी पास नगरी संसदमा रोकेको आरोप लागेको थियो । सोहीकारण षडयन्त्र गरी उनलाई सभामुखबाट हटाउनै यो प्रपन्च रचिएको आशंका गर्नेको समेत कमी छैन ।
एमसीसीको विवादलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अहिले पनि विवाद कायम छ ।
प्रधानमन्त्री ओली एमसीसी तत्काल पास गर्नुपर्ने पक्षमा छन् । यस विषयमा भने उनी बोलेका छैनन् । महरा ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसेका हुन् ।