रुपन्देहीमा मोटरसाइकल दुर्घटना, दुई बालबालिकाको मृत्यु

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका गोरकटामा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाएरभएको दुर्घटनामा दुईजना बालबालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार मणिग्रामबाट गोरकट्टातर्फ जाँदै गरेको र गोरकट्टाबाट मणिग्रामतर्फ जाँदै गरेको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।

लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आइतबार साँझ ६ बजेतिर एकआपसमा ठोक्किएका हुन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मृत्यु हुनेमा तिलोत्तमा ३ शंकरनगरकी १२ वर्षीया समीक्षा खराल र ७ वर्षीय सुग्रीम खराल छन्। दुर्घटनामा परी सुद्धोधन ३ का ३४ वर्षीय सुरज काफ्ले र तिलोत्तमा ३ की कमला खराल घाइते छन् ।

उनीहरूको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार जारी छ । मृतक दुईजना बालबालिका र घाइते कमला खराल सुरज काफ्लेले चलाएको लु १६ प ६१३० नम्बरको मोटरसाइकलमा सवार थिए। दुर्घटनामा लु २८ प ४३७३ नम्बरको मोटरसाइकल चालक बुटवल ७ दीपनगरका २६ वर्षीय सुजन थापा र पछाडि बसेका सुभास खनाल सामान्य घाइते छन्। दुई मोटरसाइकल ठक्कर खाएपछि लु १ क ३०६४ नम्बरको मिनी ट्रकमा समेत ठोक्किएको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।