काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपन्देही पुर्याइएका रवि लामिछानेको बयान तेस्रो दिनमा सकिएको छ । उनलाई शुक्रबार मात्र पोखरा पठाइने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार साँझ बयान सकिएको बताइएको छ । बयान सकिए पनि त्यसलाई क्रमवद्ध रुपमा लेखेर शुद्धाशुद्धी हेरेर भाषा मिलाउन र प्रमाणीकरण गराउँदा राति अबेर भएको थियो । लामिछानेसंग बुधबार र बिहीबारसमेत गरी ७० भन्दा बढी लिखित प्रश्न सोधेको र लामिछानेले इन्कारी बयान दिएका छन् ।
मंगलबार दिउँसो विमानमा पोखराबाट भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले पहिलो दिन मौखिक र बुधबारदेखि लिखित बयान लिएको थियो । बयानमा सरकारी न्यायधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता छ । लिखित बयानका आधारमा पूरक प्रतिवेदन बनाउने तयारी छ ।
सहकारी ठगीको आरोपमा लामिछानेलाई २ कात्तिकमा प्रहरीले उनकै पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति शुद्बीकरणको कसुरमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।