काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि उपस्थित हुने शर्तमा जिम्मा लगाएको छ । भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश भएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बुधबार अदालत उपस्थित भएका थिए ।
बिहीबार उनको बयान सकिएको छ । मरासिनीका अनुसार भोलिबाट उनको थुनछेक बहस सुरु हुनेछ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो । लामिछानेका साथै छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा पुगेका थिए ।