रुसको राजधानी मस्कको एक भवनमा कसले गर्यो ड्रोन आक्रमण ?

File

काठमाडौं । रुसको राजधानी मस्कोको मध्य भागस्थित एक निर्माणाधीन भवनमा ड्रोनबाट आक्रमण भएको छ । त्यस शहरका मेयर सेर्गेइ सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राम मार्फत दिएको जानकारी अनुसार हवाई प्रतिरक्षा प्रणालीले अर्को ड्रोन मस्कोको मोजाइस्क इलाकामा खसालिदिएको थियो। कुनै हताहत भएको खबर भने आएको छैन। रिया समाचार एजेन्सीका अनुसार खिम्की र मितिनो इलाकामा पनि विस्फोटनहरू भएका बारे आपत्कालीन सेवा प्रदायकहरूलाई सूचना गरिएको थियो।

रुसको रक्षा मन्त्रालयले उसले युक्रेनबाट भएका ड्रोन हमलालाई विफल बनाइदिएको बताएको छ। उसका अनुसार हवाई प्रतिरक्षा प्रणालीले मस्कोतर्फ आइरहेका तीनवटा मानवरहित ड्रोनलाई खसालिदिएको थियो। दुईवटा ड्रोन मोजाइस्क र खिम्की इलाकामा नष्ट गरिएको तर तेस्रो ड्रोन अनियन्त्रित भइ मस्को सहरको एक व्यापारिक कम्प्लेक्समा रहेको निर्माणाधीन भवनमा ठोक्किन पुगेको उसले बताएको छ।

लगातार दोस्रो रात मस्कोका विमानस्थलहरूमा भित्रने र बाहिरिने उडानहरू अस्थायी स्थगन भएका छन्। यसै साता युक्रेनी ड्रोन आक्रमणमा परी रुसको लामो दूरीको बमवर्षक विमान नष्ट भएको विवरणहरू सार्वजनिक भएका थिए। सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्टसी–२ हवाई अखाडामा रहेको टुपोलेभ टीयू–२२ विमानमा आगो लागेको थियो। रक्षा अधिकारीहरूका अनुसार युक्रेनी सीमाको उत्तर–पूर्वमा रहेको ब्रायन्स्क क्षेत्रमा अन्य दुई वटा ड्रोनलाई रोकिएको थियो। रुसी अधिकारीहरूले ड्रोन हमलालाई युक्रेनले गराएको आतङ्ककारी कार्य भनेका छन्।

ड्रोन हमलाबारेका विवरणमा टिप्पणी गर्दै अमेरिकी विदेश मन्त्रालयले उसले रुसभित्र ड्रोन आक्रमण गर्न प्रोत्साहन नगरेको जनाएको छ। यसबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स समूहको सम्मेलनलाई सम्बोधन गर्दै उक्त समूह विश्वका अधिकांश मानिसहरूको आकाङ्क्षा पूरा गर्ने दिशामा लागिपरेको बताए। राष्ट्रपति पुटिनले उक्त सम्मेलनलाई भिडिओमार्फत सम्बोधन गरेका थिए। किनभने उनी विरुद्ध युद्ध अपराधका अभियोगमा अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरिएको थियो।

बीबीसीको सहयोगमा