रुसको सामुन्द्रिक युद्धपोत युक्रेनले बनायो ध्वस्त

OLEKSANDR TRETYAK\BBC

काठमाडौं । रुसले आफ्नो एउटा युद्धपोत युक्रेनी आक्रमणमा परेर ब्ल्याक सीस्थित एउटा बन्दरगाहमा क्षतिग्रस्त भएको पुष्टि गरेको छ। युक्रेनले मङ्गलवार बिहानीपख रुसको अधीनमा रहेको क्राइमियाको फिओदोसियामा हवाई आक्रमण गरेको थियो। क्राइमिया अन्तर्राष्ट्रिय रूपमा युक्रेनी भूभागको मान्यता पाएको क्षेत्र हो।

तर सन् २०१४ मा रुसले कब्जा गरेयता त्यो मस्कोको नियन्त्रणमा छ। रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनी विमानबाट नोभचेर्कास्क युद्धपोतलाई लक्षित गरी क्रूज क्षेप्यास्त्र प्रहार गरिएको थियो। त्यसअघि युक्रेनी वायुसेनाका प्रमुखले आफ्ना लडाकु विमानहरूले उक्त पानीजहाजलाई ध्वस्त पारेको दाबी गरेका थिए।

टेलिग्राममा लेख्दै मिकोला ओलेसुकले रुसी युद्धपोतको सङ्ख्या घट्दै गइरहेको दाबी गरेका छन्। रुसले क्राइमियामा प्रमुख नियुक्त गरेका सर्गेइ अक्स्योनोभले उक्त हमलाका क्रममा एक व्यक्तिको मृत्यु भएको जनाएका छन्। अन्य दुई जना घाइते भएको बताइएको छ। उनले छवटा भवनहरू नष्ट भएको र त्यसपछि केही मानिसहरूलाई अस्थायी आवास केन्द्रहरूमा राखिएको जनाए। अहिले उक्त बन्दरगाहमा सामान्य रूपमा यातायात सञ्चालन भइरहेको जनाइएको छ।

हमलाबाट लागेको आगो नियन्त्रणमा लिने क्रममा त्यस क्षेत्रलाई घेराबन्दी गरिएको थियो। बन्दरगाह क्षेत्रमा ठूलो विस्फोट भएको भनिएको भिडिओ सामाजिक सञ्जालमा देखा परेको छ। युक्रेनी वायुसेनाका प्रमुखले त्यो भिडिओ शेअर गरेका छन्। उक्त आक्रमणका तस्बिरहरूको आधिकारिकता स्वतन्त्र रूपबाट पुष्टि हुन सकेको छैन।

तर डिसेम्बर २४ मा भूउपग्रहबाट खिचिएको तस्बिरमा उक्त बन्दरगाहमा नोभचेर्कास्ककै लम्बाइको पानीजहाज भएको देखिन्छ। सन् २०२२ को मार्च महिनामा युक्रेनको रक्षा मन्त्रालयले अधीनस्थ युक्रेनी बन्दरगाह बेअर्ड्यान्स्कमा गरिएको एउटा हमलामा त्यसलाई क्षति पुर्‍याइएको जनाएको थियो। त्यस क्रममा अर्को युद्धपोत सरातोभ समुद्रमा डुबेको थियो। रुसी सरकारी टीभीले मारियिन्काको बाहिरी भागमा क्षतिग्रस्त भवनहरू भएको ठाउँमा रुसी सैनिकहरूको हिँडिरहेको दृश्य प्रसारित गरेको थियो ।


रुसी रक्षामन्त्री सर्गेई शोइगुले आफ्ना सैनिकहरूले पूर्वी युक्रेनस्थित एउटा मुख्य सहर मारियिन्का आफ्नो नियन्त्रणमा दिएको दाबी गरेका छन्। तर किएभ उक्त दाबीको खण्डन गरेको छ। रुसी नियन्त्रणमा रहेको क्षेत्रीय राजधानी डोनेट्स्कबाहिर रहेको तथा उच्च सुरक्षा प्रबन्धयुक्त इलाकालाई रुसी सेनााले कब्जा गरेको जानकारी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिएका थिए।

तर युक्रेनी सैन्य प्रवक्ताले मारियिन्कामा सङ्घर्ष जारी रहेको बताएका छन्। डोनेट्स्क पुग्ने बाटोमा पाँच किलोमिरटको दूरीमा पर्ने उक्त सहर लगभग ध्वस्त भइसकेको छ। पुटिनले आफ्नो सेना मारियिन्कामा ूसफलू भएको भन्दै युक्रेनी फौजलाई डोनेट्स्कबाट अझ पर धकेलिएको बताएका छन्। युक्रेनी पक्षले मारियिन्काबाट डोनेट्स्कमा नियमित रूपमा आक्रमण गर्दै आएको थियो।

पुटिनले अब रुसी फौजसामु डोनेट्स्क क्षेत्रमा व्यापक कारबाहीको क्षेत्रमा अघि बढ्ने अवसर आएको बताएका छन्। रुसले सन् २०२२ को फेब्रुअरी महिनामा युक्रेनमा सैन्य आक्रमण गरेको थियो। केही सातायता रुसी सैनिकहरूले १,२०० किलोमिटर लामो रणभूमिमा पर्ने केही महत्त्वपूर्ण क्षेत्रहरूमा आक्रमण बढाएको छ।

रुसले मारियिन्काबाहेक डोनेट्स्कनजिकै रहेको आभ्दियिन्का सहरलाई पनि घेराबन्दी गरेको छ। हिउँद सुरु भएपछि किएभको प्रत्याक्रमण रोकिएको थियो। यस्तो अवस्थामा रुसले युक्रेनलाई उछिन्न सक्ने आशङ्का बढेको छ। तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनामा थप पाँच लाख मानिस भर्ती गर्ने योजना रहेको बताएका छन्।
बीबीसी