काठमाडौं । उत्तर कोरियाली फौजहरू रुसमा परिचालित रहेका र उनीहरू युक्रेनी फौजको बलियो पकड रहेको कुर्क्स सीमाक्षेत्रमा कार्यरत रहेका उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले पहिलो पटक बताएको छ। सोमवार दक्षिण कोरियाका सुरक्षाकर्मी तथा रक्षा अधिकारीहरूसँग एउटा बैठक गरेपछि नेटोका महासचिव मार्क रुटले हप्तौँको गुप्तचार रिपोर्टहरूपछि आफूले उत्तर कोरियाली फौजहरू परिचालित रहेका पुष्टि गर्न सक्ने बताएका हुन्। नेटोका नवनियुक्त प्रमुखले उत्तर कोरियाली फौज परिचालनले “ठूलो उक्साहट” र युक्रेनमा रुसी युद्ध “खतरनाक रूपमा विस्तार” भएको भन्ने दर्शाएको टिप्पणी गरे।
प्योङ्गयाङले आफ्नो साझेदारलाई सघाउनका निम्ति हजारौँको सङ्ख्यामा फौज पठाउन लागेका विवरणबीच गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा उत्तर कोरियाली फौज पुगेको अस्वीकार गरेका थिए। “यो हाम्रो सार्वभौम निर्णय हो,” एउटा पत्रकार सम्मेलनका क्रममा प्रश्न पन्छाउँदै पुटिनले भने।
“हामी त्यसको प्रयोग गर्छौँ अथवा गर्दैनौँ, कहाँ, कहिले अथवा हामी अभ्यास, प्रशिक्षण वा केही अनुभव आदानप्रदान गर्छौँ। यो हाम्रो सरोकारको विषय हो,” उनले थपे। कति सङ्ख्यामा उत्तर कोरियाली सैनिकहरू रुस पठाइएका छन् भन्ने कुरा स्पष्ट भएको छैन।
दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार यसै महिनाको शुरूतिर कम्तीमा १,५०० उत्तर कोरियाली सैनिक रुस पुगिसकेका छन्। तर नेटोले प्योङ्गयाङका फौजहरू रुसमा कार्यरत रहेका औपचारिक रूपमा स्वीकारेको यो पहिलोचोटि हो। युक्रेनविरुद्ध प्रयोगका निम्ति उत्तर कोरियाले यसअघि नै बलिस्टिक क्षेप्यास्त्र तथा लाखौँ राउन्ड गोलीहरू रुस पठाइसकेको रुटले बताएका छन्।
त्यसको बदलामा पुटिनले उत्तर कोरियालाई सैन्य प्रविधिहरू र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू झेल्नका लागि अरू सहयोगहरू पठाउन सहमति जनाएको रुटले उल्लेख गरे। मस्को र प्योङयाङबीचको गहिरो सम्बन्ध “इन्डो(प्यासिफिक र यूरो(एट्लान्टिक क्षेत्रको शान्ति तथा सुरक्षाका निम्ति खतरा भएको” समेत उनले बताए। कुर्क्स क्षेत्रमा उत्तर कोरियाली फौजहरूको तैनाथीले पश्चिमा देशका राजधानीहरूमा चिन्ता निम्त्याउन सक्ने रुटले चेतावनी दिए।
रुसलाई आश्चर्यमा पार्ने गरी उसको पश्चिमी क्षेत्रमा पहिलो पटक युक्रेनी फौजहरू पुगेपछि दुई महिनायता त्यहाँ मस्को र किएभबीच लडाइँ जारी छ। युक्रेनलाई अगाडि बढ्न नदिने प्रयास स्वरूप रुसले सो क्षेत्रमा हजारौँको सङ्ख्यामा फौजहरू पठाएको बताइएको छ। कुर्क्समा उत्तर कोरियाली फौजहरूको आगमनले किएभका फौजहरूमाथि थप दबाव सिर्जना गर्न सक्ने विज्ञहरू बताउँछन्। गत शुक्रवार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि ती फौजहरू केही दिनभित्रै युद्धमैदानमा परिचालित हुन सक्ने सूचना आफ्नो सरकारसँग रहेको बताएका थिए।
पश्चिमा नेताहरूले त्यस्तो कदमले द्वन्द्व थप चर्काउन सक्ने चेतावनी हप्तौँदेखि दिँदै आएका छन्। सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि अतिक्रमण गरेपछि आफू एक्लिँदै गएको पाएको मस्कोले उत्तर कोरियासँग सम्बन्ध अझ गाढा बनाउँदै गएको छ।
बीबीसी