मस्को । रुसमा बसेर नेपाली भाषा–साहित्य तथा पत्रकारितामा योगदान गरिरहेका कृष्णप्रकाश श्रेष्ठको निधन भएको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले यसको पुष्टी गरेका छन् । उनले भाषा, साहित्य र नेपाल–रुस मित्रतामा श्रेष्ठको योगदान स्मरणीय रहेको बताएका छन् ।
श्रेष्ठ जगदम्बा पुरस्कार विजेता समेत हुन् । उनको रुसको राजधानी मस्कोमा ८३ वर्षको उमेरमा निधन भएको हो । उनले रुसमा नेपाल विद्या केन्द्र सञ्चालन गर्दै आएका थिए ।केन्द्रमार्फत उनले रुसी–नेपाली भाषामा अनुवाद आदानप्रदान गराएर भाषा–साहित्यको प्रचार गर्दै आएका थिए ।
‘इ.भा.मिनाएभको नेपाल’, ‘रुसमा नेपालको अध्ययन’, ‘रुसी महावीरहरुको कथा’, ‘नेपाली किंवदन्तीमाला’, ‘स्थाननामकोष’, ‘दर्शनशाश्त्रको प्रारम्भिक ज्ञान’, ‘रुसमा नेपालको छवि’लगायत थुप्रै रचना उनले गरेका छन् । उनले २०५९ सालमा जगदम्बा पुरस्कार प्राप्त गरेका हुन् ।