काठमाडौं । रुसी फौजले युक्रेनको लगभग सबै दिशाबाट हमला थालेको युक्रेनी सेनालाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतवार कठिन समय भएको बताए । उनका अनुसार रुसी फौजले लगभग सबै दिशाबाट हमला जारी राखेको छ। रुसी सेनाले आक्रमण गरे पनि खार्किभ युक्रेनी फौजकै नियन्त्रणमा रहेको त्यहाँका गभर्नरको भनाई छ ।
बिहीवार रुसले अतिक्रमण गरेयता उसका ४,३०० सुरक्षाकर्मी मारिएको युक्रेनको दाबी छ। यद्यपि यसको पुष्टि हुन सकेको छैन। ईयूले रुसी विमानहरूलाई आफ्नो हवाई क्षेत्र भएर उड्नमा र रुसी सरकारी सञ्चारमाध्यममाथि पनि प्रतिबन्ध लगाएको छ । ईयूका सदस्य राष्ट्रहरूले युक्रेनी शरणार्थीहरूलाई लिने क्रममा नियमित नियमहरूलाई पन्छाउने भएका छन्।
युक्रेनमा रुसी अतिक्रमणलाई लिएर ईयूले आवश्यक कदमहरू चालिरहँदा सदस्य देशका आन्तरिक मामिला मन्त्रीहरूले सो सम्बन्धी प्रस्तावमा सहमति जनाएका हुन्। रुसले बिहीवार सैन्य कारबाही थालेयता युक्रेनबाट तीन लाख नागरिक भागेर आएको ईयूले जनाएको छ।