काठमाडौं । रुसी सेनामा थप एक जना नेपाली युवाको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले मोक्त्तानको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको नेपाली सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
गत भदौमा रुसी सेनामा भर्ती हुन पुगेका उनको मृत्युको खबर गत पुस १२ गते परिवारलाई आइपुगेको थियो । मृतक मोक्तानसँगै रुसी सेनामा पुगेका साथीहरुले परिवारलाई उनको मृत्युको खबर पठाएका थिए । त्यसपछि उनकाबारे थप कुनै खबर आएको थिएन । मृतक पूर्व नेपाली आर्मी हुन् । उनको घरमा श्रीमती, आमा एक छोरा र एक छोरी छन् ।