रुसी सेनामा ५३१ जना नेपाली रहेको तथ्यांक सार्वजनिक

DELIL SOULEIMAN/AFP via Getty Images

काठमाडौं । रुसी सेनामा ५३१ जना नेपाली रहेको तथ्यांक सार्वजनिक भएको छ । सेनाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले यो तथ्यांक सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार अहिलेसम्म १६ जनाको ज्यान गएको छ । एक सय १६ जना घाइते र दुई सय ७२ जना सम्पर्कविहीन रहेको बताइएको छ ।

अभियानकी संयोजक कृतु भण्डारीका अनुसार यो तथ्यांक सम्पर्कमा आएका पीडित परिवारका आधारमा तयार पारिएको हो । रुसी सेनामा रहेका नेपाली युवाको उद्धारका लागि सरकारलाई दबाब दिन विवरण सङ्कलन गरिएको उनको भनाई छ ।

सम्पर्कमा आएका पाँच सय ३१ जनामध्ये एक सय २७ जनाका परिवारले घर फर्काउन पहलका लागि विवरण टिपाएका छन् । रुसी सेनामा रहेका एक हजारभन्दा बढी युवाका परिवार अनौपचारिक रुपमा सम्पर्कमा रहेको समेत बताइएको छ ।