काठमाडौं । रुस भ्रमणमा गएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको आठ सदस्यीय टोली नेपाल फर्किएको छ। मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अध्यक्ष तिमिल्सिनासहितको रुस भ्रमणमा गएको टोली स्वदेश फर्किएको हो। रुस भ्रमणका क्रममा रुसका उच्च पदस्थ व्यक्तिसँग भेटवार्ता गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
रुसी संसद नेपालसँग सम्बन्ध विस्तार गर्नका लागि तयार रहेको भेटका क्रममा रुसी पदाधिकारीले बताएका थिए । सोभियत संघको कालखण्डमा भन्दा पनि अझै बढी सहयोग र सम्बन्ध विस्तार गर्न रुस तयार रहेको सन्देश उनीमार्फत प्राप्त भएको छ ।
उनले दुई देशका संसदबीचको सम्पर्क, सम्बन्ध र समझदारी पत्र हस्ताक्षर मात्रै नभइ पूर्वाधारको विकास, नेपाली विद्यार्थी रुसमा अध्ययन गर्न जाने कुरामा वृद्धि गर्ने र जिटुजीमार्फत् रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने विषयमा पनि छलफल भएको र त्यसमा रुस सरकार सकारात्मक रहेको जानकारी दिए ।
जिटुजीमार्फत् रासायनिक मल सस्तोमा उपलब्ध गराउन सहयोग गर्ने कुरामा पनि छलफल भएको उनको भनाई छ । गहुँ उपलब्ध गराउने, व्यापार विस्तार गर्ने कुरामा पनि रुस सरकार सकारात्मक रहेको उनले बताए । रुस नेपाल सरकारबाट प्रस्ताव भए कान्ति बाल अस्पतालको स्तरवृद्धि गर्ने कुरामा तयार रहेको उनले जानकारी दिए ।