‘रेड जोन’मा परेका १४ जिल्ला, सचेत नभए संक्रमण विष्फोट हुन सक्ने जोखिम

फाइल तस्वीर

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई दोस्रो चरणको कोरोना महामारीबाट अति प्रभावित क्षेत्र (रेड जोन)मा राखेको छ । काठमाडौं, ललितपर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रेड जोनमा परेका हुन् ।

यी क्षेत्र खासगरी दुई प्रकारले जोखिममा छन् । एउटा भारतसँगको सिमाना जोडिएको र मानिसहरुको खुलेआम आवतजावतका कारण कोरोनाको उच्च जोखिममा देखिन्छन् । दोस्रो शहरी इलाकाको बढ्दो जनसंख्या र त्यहाँ मानिसहरुले देखाइरहेको लापरवाही गतिविधिले जोखिम बढाएको छ । तर, त्यसको नियन्त्रणमा समेत राज्य उदासिन देखिएको छ ।

सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना भएका छैनन् । होटेल रेष्टुरेन्टको भीड थामिनसक्नु रहेको छ । पार्टी प्यालेसहरुमा मानिसहरुले निष्फिक्री कार्यक्रम गरिरहेका छन् । राजनीतिक दलहरुले समेत आफ्नो गतिविधि रोकेका छैनन् । क्लव र डान्सबारहरुमा समेत मानिसहरुको भिड उत्तिकै रहेको छ । सरकारले यी जिल्लामा भीडभाड हुने सबै गतिविधि रोक्न भनेको छ ।

मेला पर्व समेत नगर्न भनेको छ । तर, काठमाडौं उपत्यकासहितका क्षेत्रमा हजारौं भिड जम्मा भएर मेला पर्व अहिले पनि बीना सचेतना मनाउने गरिएको छ । प्रशासनको उदासिनता र जनताको लापरवाहीले निकट भविश्यमै नेपालमा कोरोनाले विष्फोटक रुप लिन सक्ने चिन्ता विज्ञहरुको रहेको छ ।