काठमाडौं । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई आममाफी दिने तयारी गरेको छ। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिले दिने आममाफीमा यसपालि चौधरीलाई पनि समेट्न प्रस्ताव राष्ट्रपति कार्यालय पुगेको छ। राष्ट्रपति पौडेलले गृहको यो सिफारिसमा कानुनविद्हरूसँग सल्लाह गर्ने तयारी गरेको सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति कार्यालयबाट यो प्रस्ताव फेरि गृह मन्त्रालयमा आउनेछ। गृहले आममाफी दिनेहरूको सूची मन्त्रिपरिषद्मा पठाउने छ।
मन्त्रिपरिषद्ले पारित गरेको सूचीअनुसार राष्ट्रपतिले आममाफी दिने छन्। २०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एकजना दूधे बालकको ज्यान गएको थियो। घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।
सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए। गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरिदिएको थियो। रेशम चौधरी निर्दोष रहेको र उनलाई रिहा गर्नुपर्नेलगायत मुद्दा लिएर गठन भएको नागरिक उन्मुक्ति पार्टीले संसदमा ४ सिट जितेको छ। पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्। उनी रेशम चौधरीकी श्रीमती हुन्।