२५ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाबारे सदनलाई जानकारी गराएका छन् । उनले संरक्षक चौधरीलाई पक्राउ गरिएको सम्बन्धमा सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताए । प्रतिनिधिसभामा गृह मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएका विषयको जवाफ दिँदै गृहमन्त्री लेखकले यसअघि अदालतबाट हुने गरेका पत्राचारलाई कार्यान्वयन गरे जस्तै चौधरीलाई पक्राउ गरिएको घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गरिएको बताए ।
भविष्यमा यस प्रकारका घटना नदोहोरिनेतर्फ सबैलाई सजग र सचेत बनाएको उनको भनाइ छ । सर्वोच्च अदालतमा कार्यरत शाखा अधिकृत महिमानसिंह विष्टले आफ्नो विवेक बाहिर गएर अनधिकृत पत्र लेखेका कारण नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी पक्राउ परेको घटनाप्रति गृहमन्त्री लेखकले दुःख व्यक्त गरे । “घटनाबारे प्रहरी महानिरीक्षकबाट जानकारी प्राप्त हुनासाथ सर्वोच्च अदालतका रजिष्ट्रारसँग सोधपुछ गर्दा पत्र अदालतको आधिकारिक नभएको र अदालतबाट थप छानविन भइरहेको जानकारी पायौँ, उक्त पत्र आधिकारिक नभएको जानकारी प्राप्त हुनासाथ रेशम चौधरी रिहा हुनुभएको छ”, उनले भने ।
जिल्ला प्रहरी परिसर काठमाडौँले शाखा अधिकृत विष्टलाई तत्काल पक्राउ गरी अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान भइरहेको गृहमन्त्री लेखकले जानकारी दिए । यसैगरी गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका सम्बन्धमा अधिकार प्राप्त निकायबाट अनुसन्धान भइरहेको उल्लेख गर्दै उक्त घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कुनै पूर्वाग्रहविना आवश्यक अनुसन्धान र अभियोजनको काम भइरहेको सदनलाई जानकारी दिए ।
“संविधान र व्यवस्था विरोधी अराजक गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याएर नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अधिकार निर्वाध उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा सरकार प्रतिबद्ध छ”, उनले भने । संविधान विरोधी गतिविधि सह्य नहुने गृहमन्त्री लेखकको भनाइ थियो ।
“आफ्ना असहमति शान्तिपूर्वक राख्ने र जनमतबाट अनुमोदित हुने अधिकार सबैलाई संविधानले दिएको छ । तर अराजक शैलीमा लुटपाट, तोडफोड, आगजनी तथा सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मका कार्य अक्षम्य र भत्र्सना योग्य छन्”, उनले भने । गृहमन्त्री लेखकले पश्चिम नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिको राहत, पुनःस्थापनालाई पछिल्ला दिनमा प्राथमिकता दिएर काम भइरहेको सदनलाई जानकारी दिए ।
अस्थायी आवास निर्माण गर्न जाजरकोटमा रु एक अर्ब ९१ करोड ९१ लाख ७५ हजार, रुकुम पश्चिममा रू एक अर्ब ६१ करोड २२ लाख, सल्यानमा रु सात करोड, बाजुरामा रु १० करोड ५० लाख, बझाङमा रु २५ करोड र जुम्लामा रु एक लाख ७५ हजार उपलब्ध गराइएको उनले जानकारी र्दिए । प्रभावित जिल्लामा विस्तृत क्षति आँकलनको काम अगाडि बढाएको उल्लेख गर्दै गृहमन्त्री लेखकले हालसम्म ३७ हजार ९३८ घरको विस्तृत क्षति आँकलन गर्ने कार्य सम्पन्न भएको बताए ।