रोममा एनआरएनए यूरोपेली बैठक, ९ देशका राजदूत एकै स्थानमा भेला

रोम । गैर–आवासीय नेपाली संघ (एनआरएनए) को १२ औं युरोपेली बैठक इटालीको रोममा सम्पन्न भएको छ ।

अगस्ट ३ र ४ तारीखमा संचालित बैठकमा नेपालको पर्यटन प्रवद्र्धन मूख्य एजेण्डाका रुपमा रहेको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ ।

बैठकमा विभिन्न ९ देशका लागि नेपाली राजदूतले भाग लिए । उनीहरुले नेपालमा लगानी प्रवद्र्धन, पर्यटन विकास र वैदेशिक रोजगारीको क्षेत्रमा रहेका अवसरमा चर्चा गरेका छन् ।

संघका अनुसार यसपटकको बैठकमा युरोपियन युनियन (इयु)का लागि नेपाली राजदूत लोकबहादुर थापाल, अष्ट्रियाका लागि आवासीय नेपाली राजदूत प्रकाशकुमार सुवेदी, स्पेनका लागि कार्यबाहक राजदूत हरिहरकान्त पौडेल र नेपाली राजदुतावास स्वीट्जरल्याण्डका उपप्रमुख तीर्थराज वाग्लेलगायतले नेपालमा पर्यटन प्रवद्र्धन र लगानी भित्राउने उपायका सम्बन्धमा छलफल गरेका छन् ।

बैठकमा लण्डन स्थित नेपाली दूतावासका द्वितीय सचिव लव सुवेदी, जर्मनीका राजदूत रमेशप्रसाद खनाल, डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्साल, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, सयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग (जेनेभा)   रुसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे समेत सहभागी थिए ।

नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारा सार्थक बनाउन वैदेशिक लगानी भित्राउने र सन् २०२० का लागि घोषणा भएको पर्यटन वर्षलाई सफल बनाउने गरी भेलाको एजेण्डा तय गरिएको संघको भनाई रहेको छ ।