रोल्पामा निर्माणाधिन पुलको पर्खाल भत्किँदा कम्तिमा ५ कामदारको मृत्यु


काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खसेको छ । सो क्रममा ५ जनाको मृत्यु भएको छ । ६६ वर्षीय देविराम परियार, ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पाँचै जना सुनछहरी गाउँपालिका वडानम्बर ३ बाहिरी गामका हुन् । मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर आज बिहान ९ः५० बजे उनीहरु पुरिएका थिए । दुई जना भने भागेर ज्यान जोगाउन सफल भएका थिए । सो स्थानमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको कमाण्डमा ७ जना र प्रहरी चौकी गामबाट प्रहरी सहायक निरीक्षक प्रकाश विष्टको कमाण्डमा ५ जनाको टोली उद्धारमा खटिएको समेत प्रहरीले जनाएको छ ।