काठमाडौं । नेपालले लकडाउन गरेपछि नेपाल र भारतको सीमानामा आएर रोकिएका नेपाली नागरिकलाई भारती भूमिमै क्वारेन्टाइनमा राखिने भएको छ ।
यसअघि सीमामै आइसकेका नेपालीलाई घर छिर्नु दिनुपर्ने चर्को दवाव थियो । तर, सरकारले भने सीमापारी रोकिएका नेपाली नागरिकको भारतीय भूमिमै व्यवस्थापन गरिएको बताएको छ ।
महामारी फैलन नदिन नेपाल सरकारले सीमा नाका बन्द गरेको छ । यसअवस्थामा कुनै पनि व्यक्ति अब भारतबाट नेपाल छिर्न सक्दैनन् ।
नेपाल र भारतबीच सीमा बन्दपछि सीमाक्षेत्रमा पुगेका नागरिकलाई जुन देशमा छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने सहमति भएको बताइएको छ ।
यसअनुसार अब भारतीय नागरिक नेपालमा छन् भने भारत छिर्न पाउने छैनन् । नेपाली पनि आफ्नो मुलुक छिर्न पाउनै छैनन् ।
सहमतिपछि सुनौली नाकामा रोकिएकाहरुलाई भारतको नौतनवास्थित क्वारेन्टाइन र दार्चुलामा रोकिएकालाई भारतको धार्चुलास्थित क्वारेन्टाइनमा राखिएको बताइएको छ ।
सीमाना बन्दका कारण नेपालमै रोकिएका भारतीय नागरिकमध्ये भैरहवामा १५१ जनालाई नेपालले व्यवस्थापन गरिरहेको छ ।
रौतहटमा ६० जना रहेका छन् । उनीहरुको जिम्मा नेपालले लिनेछ ।