काठमाडौं । नेपालमा लगातार दोस्रो दिन कोरोनाको नयाँ संक्रमण फेला परेन । कुल ६ हजार भन्दा बढी मानिसमा भएको परीक्षणमा कोरोन संक्रमण भेटिएन ।
यससँगै नेपालमा अहिले मात्र १६ जनामा कोरोना पुष्टी भएको छ । विभिन्न जिल्लामा र्यापिड टेस्टमा पोजेटिभ आएका रिपोर्ट पनि स्वाब परीक्षणमा नेगेटिभ आएको छ ।
पछिल्लो २४ घण्टामा स्वाब परीक्षण विधि र र्यापिड डाइग्नोस्टिक विधिबाट ३ हजार ६ सय ३२ वटा नमुना परीक्षण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार स्वाब परीक्षण (पीसीआर) विधिबाट ३ सय ६९ जना र र्यापिड डायग्नोस्टिक (आरडीटी) विधिबाट ३ हजार २ सय ६३ वटा नमुना परीक्षण भएको हो ।
विरगञ्जको छपकैयामा मात्रै पछिल्लो २४ घण्टामा ४ सय र्यापिड परीक्षण भएको छ । अहिलेसम्म दुवै विधिबाट १९ हजार ३ सय ३२ परीक्षण भएको छ ।
जसमा पीसीआर विधिबाट ७ हजार २ सय ४० र आरडीटी विधिबाट १२ हजार १ सय ९२ परीक्षण भएका छन् ।
देशभरी नै सरकारले आरडीटी परीक्षणको दायरा बढाएको छ । ८ जिल्लाबाहेक सबै जिल्लामा आरडीटी परीक्षण सुरु भएको मन्त्रालयले उल्लेख गरेको छ ।
ताप्लेजुङ, इलाम, सोलुखुम्बु, डोल्पा, मनाङ, रुकुम पूर्व, ओखलढुंगा र खोटाङमा परीक्षण भएको छैन ।