लमजुङमा भूकम्पको धक्का महसुस

कास्की । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका १० बाँझखेत केन्द्रविन्दु बनाएर ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ । राति भूकम्प जाँदा अधिकांश मानिस निद्रामा भएका बेला भूकम्पले उठाएको थियो । यस भूकम्पको धक्का जिल्लाभरिका स्थानीयवासीले महसुस गरेको बताइएको छ ।

जिल्लामा यसअघि गत माघ २३ गते दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रविन्दु ३.२ रेक्टर स्केलकै भूकम्प गएको थियो । त्यस्तै माघ १३ गते क्व्होलासोथर गाउँपालिका(१ बागलुङपानी केन्द्रविन्दु बनाएर दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो । जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुने गरेको छ । जेठयता हालसम्म गएको भूकम्पले कुनै मानवीय तथा भौतिक क्षति नगरे पनि जेठ ५ गते आएको भूकम्पले भने मानवीयदेखि भौतिक क्षति पुर्‍याएको थियो ।