काठमाडौं । ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटना हुँदा दम्पत्तिको ज्यान गएको छ । मंगलबार बिहान पौने ११ बजे महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल रातोपहिरोस्थित भित्री सडकमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साहले जानकारी दिए। बुखेलबाट गोटीखेल जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको डिएसपी साहले बताए।
दुर्घटना हुँदा बागमती गाउँपालिका वडा नम्बर ७ घर भई महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र पछाडि सवार उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको हो। उक्त मोटरसाइकलमा सवार उनीहरूकी ५ वर्षीया छोरी सृजला फुँयाल गम्भीर घाइते भएकी छन्। उनको पाटन अस्पतालमा उपचार भइरहेको छ।