ललितपुरमा होलीकै दिन ग्याङ फाइट, दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई छन् । पूजनको शव सुमेरु अस्पताल र रोबसको पाटनमा राखिएको छ ।

ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भइसकेपछि प्रहरीले खबर पाएको बताइएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।