ललितपुर घटनामा कमजोरी भएको प्रधानमन्त्रीको स्वीकारोक्ति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनामा सरकारको तर्फबाट कमजोरी भएको स्वीकार गरेका छन् । शनिबार काठमाडौंमा सुरु भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन कार्यक्रममा उनले मन्त्रीको गाडी जल्नुमा र गोली चलाउनुमा सुरक्षा निकायबाट कमजोरी भएको बताएका हुन् ।

‘हाम्रो मन्त्रीजीको पीएसओ (निजी सुरक्षा अधिकारी) ले परिस्थितिको राम्रो आँकलन नगरीकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भीर त्रुटी भएको महसुस गरेर उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको छ । अनि, त्यसैगरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटीपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानबिनको रिपोर्ट नआउँदासम्म निलम्बन गरिएको छ’, उनले भने ।

पानीजहाज बनाउने कामको लागि कोरियाली भाषा परीक्षा दिँदा फेल भएकाहरुले उत्पादनमूलक कामको भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग राख्दै गरेको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो ।
भाषा परीक्षामा फेल भएकाहरुले पुनः परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए । ३ पुसमा अदालतले निवेदन दिन १८ जनाले मात्र फारम भर्न दिन आदेश दिएको थियो । प्रधानमन्त्री प्रचण्डले अदालतको निर्णयको कारण पनि यो घटना भएको आशय व्यक्त गरे ।

‘यहाँ यो प्रक्रियामा कहीँ न कहीँ अदालतले १८ जना, जसले निवेदन दिए, उनीहरुलाई परीक्षा दिन स्वीकृति दिनुको अर्थ अरुलाई नदिएको भन्ने जस्तो अर्थ लगाउने ठाउँ देखिँदैन । पछि त फेरि हिजै ३ बजे अदालतले सबैले परीक्षा दिन पाउने भनेपछि एउटै निर्णय पहिलेनै पुस ३ गते भइदिएको भए यो दुर्भाग्यपूर्ण घटना घटनानै थिएन । त्यसकारण कहीँ न कहीँ त्रुटीहरु भएका छन भन्ने हामीले समीक्षा गर्दैछौं’ उनले भने ।