ललितपुर महानगर भित्रका अव्यवस्थित तार एक सातामा हटाउन ताकेता

Photo : Setopati

काठमाडौं । ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्र र पर्यटक मार्ग वरपर रहेका अव्यवस्थित इन्टरनेट र टेलिफोनका तार सात दिन भित्र हटाउनु पर्ने भएको छ । सडक किनारका पोलमा झुण्ड्याइएका इन्टरनेट र टेलिफोनका तारका मुठाहरुले शहर नै कुरुप भएको भन्दै महानगरले सार्वजनिक सूचनामार्फत यस्तो अनुरोध गरेको हो । ललितपुर महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने अभियानलाई अव्यवस्थित तारले चुनौती थपको महानगरको ठहर छ ।

सूचनामा लेखिएको छ, ‘महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने हाम्रो अभियानलाई चुनौती दिंदै महानगरपालिका क्षेत्रभित्र कार्यरत इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्वारा सडक किनारामा राखिएका अव्यवस्थित तार तथा सडकको पोल–पोलमा राखिएका तारका अनावश्यक मुठाहरुले शहरलाई नै कुरुप पारेको हुँदा महानगरपालिका सम्बन्धित निकायहरुलाई विशेष ध्यानाकर्षण गराउँदछौं ।’

‘महानगरपालिकाको कार्यालय अगाडि, ऐतिहासिक सम्पदा क्षेत्र वरपर तथा पर्यटक मार्गहरुमा राखिएका त्यस किसिमका तार र मुठाहरु यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सम्बन्धित निकायहरुले आफैं हटाउनु हुन अनुरोध छ ।’ यदि सात दिनभित्र तारहरु नहटाए कारबाही हुने चेतावनी महानगरपालिकाले दिएको छ ।