काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा ४ थाई, २ भारतीय र ७ नेपालीलाई पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर उनीहरुविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
ब्युरोले काठमाडौं महानगरपालिका–२१ दलाछी टोलबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन २० हजार ३ सय एम्पुल, नाइट्राभेट १२ हजार ९ सय ५० ट्याब्लेट र नगद ४ लाख ५ हजार रुपैयाँसहित सोलुखुम्बु माप्यदुधकोसी गाउँपालिका–४ ठेगाना भएका ३५ वर्षीय लाक्पा शेर्पालाई माघ २४ मा पक्राउ गरेको थियो । शेर्पा २०७० असार ७ मा हातहतियार मुद्दामा ३ वर्ष कैद भुक्तान गरी छुटेको पाइएको ब्युरो प्रमुख एसएसपी विकासराज खनालले बताए ।
शेर्पामाथि अनुसन्धान गर्ने क्रममा लागूऔषध कारोबारमा संलग्न भारत बिहारको मधुवनीका ३८ वर्षीय फैज अहमदलाई काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट माघ २५ मा, धनुषा औरही गाउँपालिका–३ कपटोलका २९ वर्षीय रिहासद भन्ने अयान रेजा तथा औरही गाउँपालिका–३ कपटोलका ४५ वर्षीय जाकिर नदाफलाई माघ २६ मा पक्राउ गरेको हो ।
काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ का २४ वर्षीय दीपक तामाङलाई काठमाडौं महानगर–१६ बालाजुबाट नगद ६ हजार रुपैयाँसहित माघ २७, नुवाकोट शिवपुरी गाउँपालिका–८ का २९ वर्षीय लक्ष्मण बखतीलाई काठमाडौं महानगर–२२ काठमाडौं मलबाट नगद ६ हजार रुपैयाँसहित माघ २७ मा प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंका मुख्य डिलर शेर्पालाई फैज अहमदले पटनाबाट लागूऔषध खरिद गरी पठाउन रिहासदलाई जिम्मा दिने गरेको, रिहासदले तरकारी बोक्ने गाडीमा लागूऔषध लुकाई जाकिर नदाफलाई गाडीमा राखेर काठमाडौं पठाउने र जाकिर नदाफले शेर्पालाई दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । फैज अहमद बिक्री गरेको लागूऔषधको रकम लिन आफैं काठमाडौं आउने गरेको खुलेको छ । उनले लागूऔषध बिक्रीको १७ लाख ७५ हजार रुपैयाँ बुझिसकेको समेत प्रहरीले जनाएको छ ।
ब्युरोले २३ किलो ८ ग्राम लागूऔषध चरेससहित थाइल्यान्डका ४ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता डीएसपी नारायण रञ्जितकारका अनुसार ब्युरोबाट खटिएका प्रहरीले माघ २८ मा काठमाडौंबाट बैंकक जान लागेका उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ४८ वर्षीया याओवालुक जुआब्स्री, ४२ वर्षीया परिचार्ट पम्प्रुक, २५ वर्षीय नाटापोल ट्रिचैया, १९ वर्षीया नट्नारी ट्रिचैया छन् । उनीहरुले लगेजभित्र फल्स बटम बनाई चरेस थाइल्यान्ड लैजान लागेका थिए ।
प्रहरीले माघ २७ मा सिनामंगलस्थित एक होटलबाट अवैध लागूऔषध १ ग्राम खैरो हेरोइनसहित मोरङ लेटाङ नगरपालिका–२ का ३४ वर्षीय रोशन रिसाललाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा उक्त लागूऔषध बिक्री गर्ने कार्यमा संलग्न आरोपमा मोरङ केराबारी गाउँपालिका–३ का ३५ वर्षीय अमित श्रेष्ठलाई काठमाडौं महानगर–३२ कोटेश्वरस्थित अर्को होटलबाट अवैध लागूऔषध खैरो हेरोइन ३८ ग्रामसहित पक्राउ परेका छन् ।
यस्तै, कोटेश्वरस्थित एक होटलबाट १२ ग्राम लागूऔषध खैरो हेरोइन र डिजिटल तराजुसहित एक भारतीय नागरिक पनि समातिएका छन् । भारत बिहार मधुवनी जयनगर हथलेटेवा–४ का ३२ वर्षीय श्रवणकुमार महरालाई माघ २९ मा ब्युरोले पक्राउ गरेको हो ।